ईश्वर पाेखरेलकाे आराेप : जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गर्‍यो

काठमाडाैं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालको स्थापना दिवसका शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धन सरकारले पूर्वाधार निर्माण लगायतका कामहरु रोकेको भन्दै विकासको सपनालाई मूर्छित पार्ने काम गरेको आरोप लगाएका हुन् ।

एमालेलाई समाप्त गर्ने विषाक्त विचार बोकेर निर्माण भएको गठबधनलाई राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका मुद्धामा कुनै चासो नै नरहेको उनले बताए । पोखरेलले वर्तमान सरकार बनेपछि कालापानी र लिपुलेकलाई पनि अपनत्व दिन नसकेको तर्क गरे ।

एमालेले संघीयताको बलियो कार्यान्वयन चाहको भन्दै उनले संघीयता नचाहनेहरुलाई लिएर गठबन्धन दल अघि बढेको बताए । स्थानीय तहको चूनावको मिति घोषणा नगरेर परमादेश सरकारले संविधान र कानून उलंघन गरेको उनकाे भनाइ थियाे । उनले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनीसमेत दिए ।

प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घोषणा पनि गरेको छ । प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको हो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१