प्रचण्डले भने- राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि पत्र लेखिएको हो

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि पत्र लेखिएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसीलाई लेखेको संयुक्त पत्र सञ्चार माध्यममार्फत् बाहिर आएपछि उनले उक्त कुरा स्वीकारसहित पत्र लेखनबारे स्पष्ट पारेका हुन् । प्रचण्डकाे सचिवालयले भनेकाे छ, ‘प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो । र, पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको हो ।’

देशमा एमसीसीबारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेसदेखि जनस्तरसम्म विरोध र दवावको अवस्था विद्यामान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले एमसीसीबारे गठन गरेको कार्यदलले पनि यसलाई “परिमार्जन बिना पारित गर्न नसकिने” निचोड प्रस्तुत गरेकोले गठबन्धनभित्र यसबारे एउटै मत बनिहाल्ने अवस्था नभएकाले राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको अर्थ नभएकाे पनि सचिवालयले बताएकाे छ ।

याे परियोजना परिमार्जन बिना पारित गर्नु हुँदैन भन्नेमा आफ्नाे पार्टी दृढ भएकाे प्रचण्डले बताएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१