काठमाडाैं । नेकपा एमालेका नेता तथा सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाइ लेखेको पत्र कूटनीति मर्यादाविपरीत रहेको बताएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद भीम रावलले प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री प्रचण्डले कूटनीतिक मर्यादा र राष्ट्रिहित लत्याएर एमसीसीलाई पत्र लेखेको भन्दै संसदीय समितिले छानबिन गरेर कारबाहीको दायरमा ल्याउनुपर्ने माग गरे ।
उनले देउवा र प्रचण्डको पत्रले नेपालको कूटनीति कमजोर बनाएको पनि बताए ।
त्यस्तै, कांग्रेसका दिव्यमणी राजभण्डारीले यसबारेमा बुझ्नका लागि प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई बोलाउनुपर्ने धारणा राखे ।
बैठकमा नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले एमसीसीका बिषयमा जनमत संग्रह गर्नुपर्ने बताएका थिए । मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले पत्र लेख्नु गल्ती भएको उनको भनाइ छ ।
बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलका नेताहरूभित्रको संकीर्ण सोचले गर्दा परराष्ट्र र सुरक्षा नीतिमा साझा धारणा बन्न नसकेको बताए ।
हेर्नुहाेस् भिडियाे :