‘प्रचण्ड’ले पत्र नलेखेको भए एमसीसी पारित भइसकेकाे हुन्थ्याे : सुदन किराँती (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एमसीसी सम्झौताबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिठी नलेखेको भए देशमा प्रतिगमनको सरकार हुने र एमसीसी सम्झौता पास भइसकेको हुने बताएका छन् ।

एमसीसी सम्झौता पास गराउनका लागि अमेरिकासँग समय मागेको पत्र सार्वजनिक भएपछि प्रचण्डको आलोचना भइरहेका बेलामा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको पत्र सञ्चारमाध्यममार्फत केही दिनअघि सार्वजनिक भएको थियो ।

‘यो चिठी नलेखिएको भए नेपालमा गठबन्धनको सरकार बन्ने थिएन जसले प्रतिगमनको बाटो रोजेको थियो, उसको नेतृत्वको सरकारले चुनाव गर्नुपर्ने हुन्थ्यो ।’ हुलाक सञ्चारसँगको कुराकानीका क्रममा सांसद किराँतीले भने, ‘यही पत्रका आधारमा प्रतिगमन परास्त भयो । संविधान उल्लंघनको शृंखला चलेको थियो, त्यसको अन्त्य भयो । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता केही समयका लागि पर धकेलियो । यी कुराहरु त सम्भव भयो नि !’

अहिले यो पत्रको विषय ‘तिललाई पहाड’ बनेर आएको पनि उनले टिप्पणी गरे । नेपालको इतिहास हेर्ने हो भने देशभक्तमाथि विभिन्न आक्रमण गरी काम गर्न नदिएका कयौँ उदाहरणहरु छन्, यही शृंखलामा प्रचण्डमाथि पनि आक्रमण भइरहेको उनको तर्क छ ।

माओवादीले हालसम्म कुनैपनि राष्ट्रघात नगरेको दाबी सहित उनले प्रश्न गरे, ‘कोशी सम्झौता, टनकपुर सम्झौतालगायतका देशघाती सम्झौता कसको पालामा भएका छन् ? माओवादीको पालामा अहिलेसम्म कहिले राष्ट्रघाती सम्झौता भएको छ ?’

हिमालदेखि तराइसम्मका नागरिक अहिले एमसीसीको विरोध गरिरहेका कारण एमसीसीको विषय आम नागरिकलाई बुझाउनु पर्ने उनको भनाइ छ । उनले भने, ‘एमसीसी संसदबाट पारित हुनुपर्ने किन ? यो अमेरिकी सैन्य रणनीति अन्तर्गत होइन भने त्यहाँको विदेशमन्त्रीले बोलेको किन ? नेपालको संविधानभन्दा माथि यो सम्झौता हुनुपर्ने किन ? आम नेपाली नागरिकलाई बुझाउन पर्दैन यी कुरा ।’ एमसीसीको बारेमा जनमत संग्रह गर्न पनि उनले सुझाव दिए ।

उनले नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति पनि एमसीसी यथास्थितिमा पास हुनु हुँदैन भन्ने नै भएको बताए । यसमा अहिले पनि माओवादी केन्द्र स्पष्ट भएको उनको भनाइ छ ।

‘प्रतिगमन पूर्णरुपमा परास्त भइसकेको छैन’

सांसद किराँतीले प्रतिगमन पूर्ण रुपमा परास्त नभइसकेको पनि बताएका छन् । ‘जुन कुराका लागि हामीले गठबन्धन गरेको हौँ, त्यो अझै पनि जारी छ ।’ उनले भने, ‘एमसीसीको कारण गठबन्धन नटुटोस् भन्ने हाम्रो चाहाना हो । गठबन्धन अझै अगाडि लैजानका लागि एमसीसी यथास्थितिमा पास हुनु हुँदैन । यो कुरामा हामी स्पष्ट छौँ ।

उनले हिम्मत भए सभामुखमाथि महाअभियोग लगाउन चुनौति पनि दिए । नेकपा माओवादी केन्द्र चुनावबाट नडराएको पनि उनले स्पष्ट पारे ।

हेर्नुहोस् भिडियो :

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१