पश्चिमी वायुको प्रभाव : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नम्बर १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव २ र अधिकतम तापक्रम १८ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१