काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री देउवालाई भेट्न दाहाल र नेपाल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा दाहाल र नेपालले अहिलेकाे अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै अझै केही समय लिएर मात्रै अघि बढाउनुपर्ने बताए ।
कम्तीमा चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने उनकाे भनाइ थियो । तर, प्रधानमन्त्री देउवाले भने आफूले दिएको समयसीमाभित्र एमसीसी अनुमोदन गराउनुपर्नेमा अडान लिएका छन् ।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले यसअघि सामुहिकरुपमा एमसीसीलाई पत्राचार गरी फेब्रुअरी २८ भित्र संसद्बाट एमसीसी अनुमोदन गराउने वचन दिएका थिए । तर, माओवादी अध्यक्ष दाहाल त्यो प्रतिबद्धताबाट पछि हटेका छन् ।
बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भेटेका थिए । कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद् खुलाउनेलगायतका विषयमा छलफल भएको थियाे ।
कांग्रेस नेता काेइरालाले एमसीसी गिजाेलिएकाेले तत्काल यसकाे समाधान गर्न पनि प्रचण्डलाई सुझाव दिएका थिए ।