एमसीसी पास गरेर जनताप्रति गद्दारी गर्नु अपराध हाे : भीम रावल

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी पास गरेर जनता प्रतिकाे गद्दारी र राष्ट्र पराधीन बनाउने काम गर्नु अपराध भएकाे टिप्पणी गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले एमसीसीमा नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका प्रावधानहरु रहेकाले याे पास गर्नु अपराध भएकाे उल्लेख गरेका हुन् । उनले एमसीसी पास गर्नेहरु नेपाली जनताकाे नेता नभएकाे पनि बताएका छन् ।

उनले भनेका छन्, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका एमसीसीका प्रावधानहरू प्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दवावका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्धारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध हो । यस्तो अपराध नेपालीको नेता हुँ भन्नेले गर्न मिल्दैन ।’

यसैगरी उनले सत्तारुढ दल नेपाली कांग्रेसलाई उद्योगधन्दा बेचेको आरोप पनि लगाएका छन् । रावलले कांग्रेसले उदारवादको हल्ला चलाएर देशको उद्योगधन्दा खतम पारेको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, गण्डकी र महाकाली सम्झैता गरी राष्ट्रिय स्वाधीनता र हितमा गरेको आघातको इतिहासलाई राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गरी फेरि बल्झाउँदै छ।’

एमाले नेता रावल अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को खुलेर विरोध गरिरहेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१