एमसीसी राष्ट्रको हितमा छ, पास नगरेचाहिँ राष्ट्रघात हुन्छ : रामशरण महत

काठमाडाैं । कांग्रेस नेता डा. रामशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास नगरेचाहिँ राष्ट्रघात हुने जिकिर गरेका छन् ।

एमसीसीबारे ब्रिफिङका लागि बोलाइएकाे सर्वदलीय बैठकमा महतले कुनै पनि हालतमा एमसीसी फागुन १६ भित्रै संसदबाट पारित हुनुपर्ने बताएका हुन् । महतले एमसीसीबारे अनेकन भ्रम सिर्जना गर्ने काम भएको पनि बताए ।

‘एमसीसी पास नगर्ने कुरा महाराष्ट्रघात हुन्छ । एमसीसीका सन्दर्भमा झूट र भ्रम सिर्जना गरिएको छ’, उनले भने, ‘यसलाई चिर्दै एमसीसी पास गर्न हामीले ढिलो गर्नु हुँदैन ।’

उनले एमसीसीको विरुद्धमा भ्रम सिर्जना गरेर शक्तिराष्ट्रसँग सम्बन्ध बिगार्न नहुनेमा पनि जोड दिए । ‘यसमा सरकार र काँग्रेस गम्भीर हुनुपर्छ । अमेरिकासँग सम्बन्ध बिगारेर राम्रो हुँदैन ।’

महतले एमसीसीको चीनसँग कुनै साइनो नभएको पनि जिकिर गरे । नेपालले बीआरआई स्वीकार गर्न हुँदा एमसीसी स्वीकार गर्न सकिने उनको भनाइ छ । ‘हामी कुनै देशको पक्ष र विपक्षमा होइन । हामीले बिआरआई स्वीकारेको सन्दर्भमा एमसीसीको अस्वीकार गर्नुको अर्थ छैन ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१