फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने युक्रेनी राष्ट्रपतिकाे सङ्केत

युक्रेन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन् ।

युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो । जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गरी भनेका छन्, ‘हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ ।’

युक्रेनले बुधबार एकता दिवस मनाउने उनले बताएका छन् । यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ ।

रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको उपस्थितिले अमेरिका र नाटो सहयोगीहरू बीच चिन्ता र तिक्तता बढाएको छ । तर रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।

युक्रेन, रुस र नाटो राष्ट्रहरूका अधिकारीहरूले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तिव्रता दिँदै आएका छन् । तर वार्ताले कुनै सफलता भने हाँसिल गर्न सकेको छैन ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा “छिटो र गम्भीर लागत” लाग्ने बताएकाे थियाे ।

बाइडेन प्रशासनका अधिकारीहरूले युक्रेनमाथि “अब कुनै पनि दिन” आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१