एमालेले माग्याे स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा

काठमाडौं । नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ ।

खतिवडाले हालै एक टेलिभिजन कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो ।

एमालेले मंगलबार विज्ञप्ति जारी गरी स्वास्थ्यमन्त्री खतिवडाको यो अभिव्यक्ति पूर्ववर्ती सरकारलाई बद्नाम गर्नका लागि मात्रै भएको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक रहेको एमालेले जनाएको छ ।

आमजनता कोभिड–१९ बाट आक्रान्त भइरहेका बेलामा मन्त्रीले दिएको अभिव्यक्तिको निन्दा र भत्र्सना गर्दै झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित नहुने जारी विज्ञप्तिमा उल्लेख छ ।

यही कारण उनले तत्काल राजीनामा गर्नुपर्ने एमालेको माग छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१