स्थानीय तहको निर्वाचन सार्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश

काठमाडाैं । स्थानीय तहको निर्वाचन सार्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वाेच्चकाे उक्त आदेशपछि ३० वैशाखमा स्थानीय तह चुनाव गर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा सर्वोच्चमा सुनुवाइ हुने भएको छ ।

महोत्तरीको भंगवा नगरपालिकाका मेयर सञ्‍जीवकुमार साहले स्थानीय चुनाव रोक्न माग गरी सर्वोच्चमा निवेदन दिएका थिए । त्यसलाई २६ माघमा सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गर्ने आदेश दिएका थिए ।

दरपीठको आदेश विरुद्ध मेयर साह सर्वोच्च अदालत पुगेका थिए । उनले रिट दर्ता गर्न परमादेशको माग गरेका थिए ।

बुधबार त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले दरपीठको आदेश बदर गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘निवेदन दरपीठ गरेको यस अदालतका रजिस्ट्रारको मिति २०७८/१०/२६ को आदेश बदर गरिएको छ। अरू कुराको रीत पुगेको भए पेश हुन आएको रिट निवेदन दर्ता गरी अरू नियमानुसार गर्नू ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१