
काठमाडौं । प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक शुक्रबार बिहान १० बजे बस्दैछ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार साँझ बसेको बैठक निष्र्कषमा नटुङ्गिएकाले पुनः छलफल गर्न लागिएको हो ।
बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गरेका थिए ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा उक्त सम्झौता बुधबार बसेको प्रतिनिधिसभा बैठकमा टेबल गर्ने तयारी गरेको भए पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो ।
शुक्रबारको बैठकमा एमसिसीलाई टेबल गर्न सत्ता साझेदार दलबीच सहमति जुटाउनुपर्नेमा अध्यक्ष दाहालले जोड दिएका थिए । सत्ता गठबन्धनबीचको सहकार्यलाई निरन्तरता दिएर अघि बढ्नुपर्ने उनको मत थियो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, कांग्रेसका महामन्त्री गगनकुमार थापा, सोही पार्टीका नेताहरू कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का सहभागी थिए । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालबाट बाबुराम भट्टराई बैठकमा उपस्थित थिए ।