काठमाडौं । एमसीसीमा सहमति जुटाउनका लागि निर्णायक मानिएकाे सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।
बिहीबार बसेकाे बैठकमा सहमति जुट्न नसकेपछि शुक्रबारका लागि बैठक राखिएको थियाे । आजकाे बैठकमा पनि सहमति जुट्ने सम्भावना भने न्यून देखिएकाे छ ।
सत्तागठबन्धनको बैठकअघि गठबन्धनमा आवद्ध एमसीसीविरोधी शीर्ष नेताको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदबाट अनुमोन गराउन चाहे पनि सत्तारुढ माओवादी केन्द्र, नेकपा एस र जसपाले असहमत छन् ।
माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । नेकपा एस र जसपा पनि यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडानमा छ ।
बिहीबारकाे बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट गएका थिए ।
देउवाले ओलीलाई सत्तासाझेदारीको प्रस्ताव राखेको बताइएको छ । यद्यपी यसबारे सञ्चारमाध्यममा देउवा र ओली दुवैले प्रतिक्रिया दिएका छैनन् ।