गठबन्धन बैठक सकियाे, शुक्रबार एमसीसी संसदमा पेस नहुने

काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएकाे छ । बैठक आइतबार फेरि बस्ने गरी सकिएको हाे ।

गठबन्धनको अर्को बैठक आइतबार बिहान बस्ने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए ।

एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

छलफलमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको बताइएकाे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्दाे चाँडो एमसिसी संसदमा पेस गर्ने पक्षमा छन् । तर गठबन्धनका अन्य नेताहरुले आइतबारसम्म समय मागेपछि देउवा सहमत भएका हुन् ।

बैठकको सुरुमै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले थप समय मागेका थिए । समाजवादीको स्थायी कमिटी बैठक शनिबार बस्दै छ । त्यसमा थप छलफल गर्ने उक्त पार्टीको तयारी छ ।

बैठकअघि शुक्रबार बिहान नै नेपाली कांग्रेसबाहेक गठबन्धन दलका शीर्ष नेताको बैठक माओवादी अध्यक्ष दाहाल निवास खुमलटारमा बसेको थियो । उक्त बैठकले एमसीसी अहिले नै संसदमा पेस गर्न सक्ने अवस्था नभएकाे निष्कर्ष निकालेकाे थियाे ।

गठबन्धनले निर्णय गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद बढाएका छन् । बिहीबार साँझ उनी ओली निवास बालकोट पुगेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१