काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् ।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले एमसीसीले गठबन्धनलाई केही अप्ठेरो नपार्ने बताएका हुन् । गठबन्धन सहमतिका आधारमा बनेको भन्दै खनालले एमसीसीले छुनुपर्ने कुनै कुरा नरहेको जिकीर गरे ।
एमसीसी गठबन्धनको नभएर मुलुक र जनताको मुद्धा भएकाले जनताको भावनाकाे कदर गरी टुङ्गोमा पुर्याउनुपर्ने धारणा खनालले राखे । उनले प्रधानमन्त्रीका आफ्ना मत र चाहना रहेको र संसद नचलिरहेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीले भेट्नु स्वभाविक रहेकाले कुनै पनि किसिमका आंशका नगर्ने पनि बताए ।
एमसीसीमा राष्ट्रघाती प्रावधान रहेको भन्दै नेता खनालले संशोधन नभएसम्म पास हुन नदिने उल्लेख गरे ।
यसअघि कांग्रेस महामन्त्री गगन कुमार थापाले माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, प्रचण्ड, केपी ओलीसम्मले एमसीसी अगाडि बढाएको भनी छिटाे सदनमा पेश गर्नुपर्ने बताएका थिए । उनले कुनै पनि विषयमा कुरा मिल्न नसके गठबन्धनलाई जोगाइराख्न आवश्यक नहुने पनि बताएका थिए ।
त्यस्तै, नेकपा एमालेका नेता यागेश भट्टराईले अहिले एमालेको प्राथमिकता सरकार नभएर आउने निर्वाचन भएको बताए । उनले अहिलेको सत्तागठबन्धनको जग बलियो नभएकाले यो टुट्नु अनिवार्य रहेको धारणा राखे । भट्टराईले एमसीसीका बारेमा आवश्यक समयमा धारणा राख्ने पनि जानकारी गराए ।