काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अनुदान सहयाेग नलिए नेपाललाई ऋण कसले दिन्छ ?’ भनि प्रश्न गरेका छन् । उनले अनुदानमा प्राप्त एमसीसी नलिए नेपालले पूर्वाधार विकास गर्न कसैसँग पैसा लिन नसक्ने अवस्था आउनेसमेत बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भने, ‘पूर्वाधारका लागि आएको ५०/६० अर्ब नेपाललाई चाहिँदैन, हामी आफैं सक्छौँ र गर्छौँ भन्ने हो भने अब योभन्दा अगाडिको यात्रामा नेपालले कुनै पनि पूर्वाधार बनाउनका निम्ति नेपालले कोहीसँग पनि पैसा चाहिन्छ भन्ने सक्ने अवस्था रहँदैन ।’
अनुदान समेत चाहिँदैन भनेपछि ऋण लिने अवस्था नै नआउने उनकाे भनाइ थियाे । ‘अब अनुदान कतैबाट लिनुभएन । ऋण कतैबाट लिनुभएन । अनुदान र ऋण नलिइसकेपछि अब हाम्रो पूर्वाधार बनाउने आकांक्षा पूरा गर्ने चाहिँ कसरी हो ? कसैले बताइदिनुपर्यो,’ उनले भने ।
उनले आफू संसदमा बहसको प्रतीक्षामा रहेको पनि बताए । ‘म त संसद्को ‘डिबेट’ कुरिरहेको हो । एउटा एउटा बुँदामा ‘डिबेट’ गरौँला भनेर कुरेको हो । ‘डिबेट’ नै गर्न नपाएर मात्रै हो । ‘हामी सबै जवाफदेही हुनुपर्छ’ थापाले भने ।
सत्तारुढ गठबन्धनका केही दलले कांग्रेससँग छलछामपूर्ण व्यवहार गरेको पनि थापाले आराेप लगाए ।
उनले भने- ‘एमसीसीको भारी कांग्रेसलाई बोकाउने प्रयास गठबन्धनभित्रै भएको छ । एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ । हामीलाई छलछाम गरौँला भन्ने कुरा गठबन्धनको पार्टी वा प्रतिपक्षले पनि नसोचे हुन्छ । अब एमसीसीको मुद्दाको छिनोफानो नगरी कांग्रेस बस्दैन ।’
उनले एमसीसीमा कुरा नमिले गठबन्धन भत्किने पनि बताए ।
हेर्नुहाेस् भिडियाे :