बालाजु दुर्घटनाका चालक धादिङबाट पक्राउ

काठमाडौं । बालाजुमा दुर्घटना गरी फरार भएका चालक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१६ गङ्गाहल नजिक सडकमा बिहीबार बिहान सवारी दुर्घटना गरी फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई शुक्रबार धादिङवेशीबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुमा दुर्घटना गरी फरार रहेको सवारीसाधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा पक्राउ गरिएको जानकारी दिए ।

बागमती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाडौँ रुटमा चल्ने बसको ठक्करबाट काठमाडौँ तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने रसुवा कालिका गाउँपालिका–५ घर भएका १८ वर्षीय विकास तामाङ र काठमाडौं महानगरपालिका–१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गामाया थापाको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर भएका उनीहरूको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख गौतम मिश्रले जानकारी दिए । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको मिश्रले बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१