कार्यकर्तालाई कहिले प्रचण्डले, कहिले माधव नेपालले झुक्याएर सिन्दुर हाले : केपी ओली (भिडियाेसहित)

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले झुक्याएर सिन्दुर हालेजस्तो गरी आफ्ना कार्यकर्ताहरूलाई लैजाने गरेको आरोप लगाएका छन् ।

भक्तपुरमा सूर्यविनायक अस्पतालको उद्घाटन गर्ने क्रममा शनिबार ओलीले यस्ताे आराेप लगाएका हुन् । उनले पूर्वतिर लाग्ने मेलाकाे सन्दर्भ स्मरण गरी भने- ‘पहिले पहिले पूर्वतिर मेला लाग्थ्यो । एकथरी उरन्ठेउलाहरु हुल बाँधेर जान्थे । सिन्दुर चाँही खल्तीमा हालेर जुम्सो जस्तो भएर जाने । अनि राम्री केटी देखेपछि छ्वास्स टाउँकोमा सिन्दुर र्याँकी दिएर गुटुटु भाग्ने । के भो, के भो भन्दाभन्दै कहाँ पुगिहाल्ने । माईतीहरु सिन्दुर हालिहाल्यो भनेर सिन्दुर लाउने उरेन्ठेउलालाई खोज्न थाल्थे । त्यस्तै छ अहिले ।’

उनले प्रचण्ड र माधव नेपालहरुले पनि त्यसै गर्ने गरेको भन्दै आक्रोशसमेत पोखे । उनले भने, ‘कहिले माकुनले झुक्याएर सिन्दुर हालिदिएको छ । कहिले प्रचण्डले झुक्याएर छ्वास्स हालिदिएको छ । कहिले काँग्रेसले सिन्दुर हालिदिएको छ । आजको जवानामा पनि त्यस्तो कुरामा भर परेर हुन्छ ? हामी माइतीहरु सिन्दुर कसले हाल्यो भनेर खोजेर चेलीलाई जिम्मा लगाउने होइन । आउनुस्, तिनीहरुले झुक्याएर हालिदिएका सिन्दुरहरु छोडिदिनुस् । यहाँ आउनुस् लक साबुनले नुहाउनुस् । नेकपा एमालेमा आउनुस्, देश बनाउने अभियानमा लागौँ ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप पनि लगाए । उनले सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको दावी पनि गरे ।

ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने पनि बताए । गठबन्धनमा आगामी निर्वाचनमा पानीमा गए पनि आफ्नो पार्टीले नछाड्ने चेतावनी दिए ।

प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आग्रह पनि गरे । उनले भने, ‘अब एक वर्षभित्र चुनाव हुनैपर्छ । कहाँ बच्ला र यो स्वार्थी गठबन्धन ? बच्न सक्दैन । त्यसकारण अब त बढीमा एक वर्ष हो यिनको आयु । संसारभरका ज्योतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ– बढीमा एक वर्ष हो, आयु । यो सरकारको आयु ।’

हेर्नुहाेस् भिडियाे :

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१