‘एमसीसी चाहिँदैन भन्नेले ओली, प्रचण्ड र नेपालललाई ‘राष्ट्रघाती मुर्दावाद’ भन्न सक्नुपर्छ’ : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीविरुद्ध नाराबाजी गर्नेले अब एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध बोल्न सक्नुपर्ने बताएका छन् ।

विगतमा नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नुपूर्व आफूलाई नै राष्ट्रघाती घोषणा गर्नुपर्ने उनले बताएका हुन् ।

थापाले भने, ‘भीम रावलले पहिले केपी ओली राष्ट्रघाती भन्न सक्नुपर्‍यो । किनकि ओली नेतृत्वको सरकारले नै एमसीसी संसदमा दर्ता गरेको हो । देव गुरुङजीले प्रचण्ड र झलनाथ खनालले माधवकुमार नेपाललाई राष्ट्रघाती मुर्दावाद भन्न सक्नुपर्‍यो । अनि बल्ल एमसीसीबारे उहाँहरूले टिप्पणी गर्नुको अर्थ हुन्छ ।’

एमसीसी संसदमा टेबल हुनुले सार्वभौम संसदले निर्णयको अधिकार पाएको भन्दै महामन्त्री थापाले कसैले पनि डबल स्ट्याण्डर्ड देखाउन नहुने बताए ।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत एमसीसीको छलफलमा सहभागी हुनु सकरात्मक भएको बताए । उनले एमाले पनि एमसीसीकाे पक्षमा उभिने दाबीसमेत गरे ।

‘नाराबाजीकै बीच पनि एमालेले छलफलमा भाग लिएको छ । माओवादी, नेमकिपा र जनमोर्चालेपनि एमसीसीबारे छलफल गरेका छन् । अब संसदले आफ्नो प्रक्रिया पुर्‍याएर निर्णय लिन सहज हुनेछ’, थापाले भने ।

उनले सरकारले ल्याएको प्रस्तावको विपक्षमा हुनेहरुले सरकार छाडनुपर्ने पनि बताए । उनले भने, ‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विरोध गर्न मिल्दैन । त्यसका लागि सरकार छाड्नुपर्छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१