काठमाडौं । नेपाली कांग्रेसले अमेरिकाकाे दबाबमा एमसीसी टेबल नगरिएको बताएकाे छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलनमार्फत यसबारे स्पष्ट गरेका हुन् । ‘नेपालमा अमेरिकाले दबाबमूलक कुटनीति देखाएको र त्यसको विरोध गर्छौं’ भन्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको भनाइमा धारणा माग्दा महतले अमेरिकाले दबाब नदिएको जवाफ दिएका हुन् ।
प्रवक्ता महतले कसैको दबाबमा निर्णय नगर्ने पनि जानकारी गराए । उनले भने, ‘दबाब कसैले महसुस गरेको छैन । हामीले दबाबको रुपमा महसुस गरेका छैनौं । हामी आफैँ निर्णय गर्छौं । हामी कसैले दबाब दिएर निर्णय गर्दैनौँ ।’
‘हामीलाई कसैको दबाब आएको छैन । अमेरिकी सरकारका तर्फबाट ‘यसकाे चाँडाे छिनाेफानाे हुनुपर्याे भन्ने कुरा आएकाे हाे । हामीले यसलाई दबाबकाे रुपमा महसुस गरेका छैनाैँ ।’ उनले भने ।
नेपालमा अपरिपक्व राजनीतिक खेल भएको पनि महतकाे भनाइ थियाे । उनले भने, ‘अमेरिका र चीनबीच विवाद निम्त्याउने काम भयो । विकास योजनालाई अत्यधिक राजनीतिक गरियो । एमसीसी जतिसक्दो चाँडो पास गर्नुपर्छ । भ्रमको अन्त्य गर्नुपर्छ ।’