पल शाह भन्छन् : समीक्षालाई मेरा प्रतिस्पर्धी साथीहरुले उकासेको प्रमाणहरु सुरक्षित छ

काठमाडाैं । पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धका विषयमा विववाद भएपछि पल शाहले स्पष्टिकरण दिएका छन् ।

पलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर यसबारे प्रष्ट पार्न खाेजेका छन् । उनले समीक्षासँगको विवाद र सञ्चारमाध्यमले प्रकाशन गरेका सामग्रीप्रति आपत्ती पनि जनाएका छन् ।

उनले भनेका छन् ‘विगत केही समययता मसँग एकजना गायिकाको नाम जोडेर विभिन्न समाचार, मेरो अन्य महिला साथीहरुको मञ्जुरी र अनुमतिबेगर निजहरुको समेत तस्बिर राखी बनाइएको रिपाेर्ट र अन्य विभिन्न भ्रामक शीर्षक राखी आपत्तिजनक शब्द प्रयोग गरी तथ्यहीन लाञ्छना लगाइ मेरो तथा निज गायिकाको समेत व्यावसायिक एवं व्यक्तिगत जीवनमा धक्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिपाेर्ट, अडियो तथा समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएकाे छ ।’

आफ्नो आवाजमा सार्वजनिक भएको अडियाेकाे विषयलाई लिएर उनले भनेका छन्, ‘अनलाइन माध्यममा प्रकाशित समाचार र अडियो रेकर्ड हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु । प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भए पनि उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शंका रहेको छ ।

उनले प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको जानकारीसहित समीक्षालाई आफ्ना प्रतिस्पर्धी साथीहरुले उकासेकाे पनि बताएका छन् ।

उनले भनेका छन्, ‘मेरा केही पुरुष सहकर्मी (व्यावसायिक प्रतिस्पर्धी) ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो । निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ । मेरा सम्पुर्ण दर्शक महानुभावको म प्रतिको भरोसालाई अक्षुण्ण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धी साथीहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ती सबुत प्रमाण आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखित समाचार वास्तविकताभन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१