जसले पशुपतिनाथमाथि गिद्दे दृष्टि लगाउँछ, उसकाे कहिल्यै भलाे हुँदैन : मन्त्री आले (भिडियाेसहित)

काठमाडौं । संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथमाथि गिद्दे दृष्टि लगाउनेकाे भलाे नहुने बताएका छन् ।

मंगलबार महाशिवरात्रि पर्व–२०७८ मूल समारोह समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशाला छिट्टै फिर्ता ल्याउने जानकारी पनि गराए ।

समाराेह समितिकाे बैठकमा आलेले भने, ‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु दिएर धर्मशाला निर्माण गर्न दिएको आज कौडीको भाउमा विगतका प्रमुखहरूले बेच्ने काम गर्नुभएको छ । बतास समूहले ल्याएको अल्पकालीन आदेश पनि सोमबार खारेज भइसकेको छ । जसले पशुपतिलाई गिद्धेदृष्टि लगाउँछ त्यसको कहिल्यै पनि कल्याण हुने छैन । अहिले त्यो धर्मशाला हामीसँग भएको भए करिब ४०० जना साधुसन्त, दर्शनार्थीहरू राख्न सकिन्थ्यो । तर, त्यो भएन । अब छिट्टै हामी धर्मशाला फिर्ता ल्याउँदै छौँ ।’

यही फागुन १ गते उच्च अदालत पाटनले होटेल सञ्चालनमा अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरी आवश्यक प्रमाण माग गरेको थियो । सोमबार अदालतले उक्त अल्पकालीन अन्तरिम आदेश खारेज गरिसकेकाे छ ।

हेर्नुहाेस् भिडियाे :

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१