बिहीबारको संसद् बैठकमा एमसीसीबारे छलफल, कांग्रेसकाे ह्वीप, लाेसपा पनि पक्षमा

काठमाडौं । बिहीबार बस्‍ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीको विषय समावेश गरिएकाे छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार भोलि अर्थ मन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्दै प्रस्ताव प्रस्तुत गर्ने सम्भावना छ ।

नेपाली कांग्रेसले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको छ। संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । गत आइतवार संसद् बैठकमा एमसीसी सम्बन्धि प्रस्ताव टेवल भएको थियो । सत्तारुढ दलबिच नै चर्को बहसका बिच प्रस्ताव टेवल भयो भने बाहिर त्यसको विरोधमा चर्को प्रदर्शन भएको थियो ।

पछिल्लो समय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमसीसीको विषयलाई लिएर लगातार सबैजसो राजनीतिक दलसँग संवादमा छन् । हिजोमात्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग देउवाको लामो छलफल भएको थियो । नेकपा एमाले एमसीसीको पक्ष या विपक्षमा खुलिसकेको छैन तर ओलीले भने बारम्बार एमसीसीको पक्षमा वकालत गर्ने गरेका छन् ।

यता जनता समाजवादी पार्टी पनि एमसीसीको विषयलाई लिएर विभाजित अवस्थामा छ । उपेन्द्र यादव समूह एमसीसीको विपक्षमा देखिए पनि बाबुराम भट्टराई समूह यसको पक्षमा उभिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा उभिने निर्णय गरेकाे छ । पार्टीको संसदीय दलको बैठकले एमसीसीको पक्षमा उभिने निर्णय गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टीमा १३ सांसद छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१