अभिनेता पल शाहविरुद्ध बलात्कारको मुद्दा दायर

काठमाडाैं । अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दायर भएको छ । नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता भएको हो ।

१८ वर्षमुनिकी गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा यौनजन्य अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको  प्रहरी स्राेतले बताएकाे छ । पल शाहबाट आफू पीडित भएको भन्दै ती गायिकाले उजुरी दिएकी हुन् ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले उनीमाथि कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार बिहानै तनहुँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर शाह विरुद्ध जाहेरी दिएकी हुन् । ती गायिका अहिले बल्ल १७ वर्ष पुगेकी छिन् ।

हालै मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१