जनताले फेरि एकपटक एमालेलाई विश्वास गर्छन् : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले फेरि एकपटक एमालेलाई विश्वास गर्ने बताएका छन् ।

बुधबार भक्तपुरमा जन्मदिनको उपलक्ष्यमा आफुमाथि लेखिएको पुस्तक ‘समवेत दृष्टि’ लोकार्पण कार्यक्रमलाई सम्बोधन अध्यक्ष ओलीले पुन जनतासँग एकाकार हुने बताएका हुन् ।

उनले आफ्नो पार्टी कसैले हराउनै नसकिने योद्धा भएको बताए । ओलीले आफूहरूले केही जमिन छोड्दा सर्वोच्चका चार न्यायाधीश प्रयोग गरेर पछार्न खोजिएको टिप्पणी पनि गरे । अहिले एमालेले समग्र युद्ध हारेको नभई एउटा मोर्चा मात्र हारेको उनको भनाई छ ।

त्यस्तै अध्यक्ष ओलीले एमालेले नीतिगत रुपमा देशलाई मार्गदर्शन गर्ने काम गरेको भन्दै एमालेले लिएका नीति नै राष्ट्रिय नीति भएको जिकिर गरे । उनले एमालेले राष्ट्र र जनताका विरुद्ध काम नगर्ने स्पष्ट पारे । अध्यक्ष एमालेले देशलाई हिजो भन्दा आज राम्रो बनाएको र भोलि अझ राम्रो बनाउने प्रतिवद्धता जनाए ।

उनले राजनीतिमा जनताको शुभकामना र शुभेच्छा नै महत्वपूर्ण भएको अनुभव गरेको बताए । कार्यक्रममा बिभिन्न व्यक्तिहरुले ओलीलाई जन्मदिनको शुभकामना दिएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१