स्रोत नखुलेको ९ लाख ५० हजारसहित भारतीय युवक पक्राउ

महाेत्तरी । भारतबाट स्रोत नखुलेको रु नौ लाख बढी रकमसहित नेपाल प्रवेश गरेका एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको सिरसिया ग्रामपञ्चायत बस्ने २० वर्षीय दीपककुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

बुधबार अपराह्न करिब ४ बजे भारतको सिरसियाबाट बीआर ३० एबी ८३४६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा कम्बलभित्र रातो प्लाष्टिकको झोलामा बेरिएर नेपाल ल्याउँदै गरेको रु नौ लाख ५० हजारको मनरासिस्वा नगरपालिका–२ स्थित सीमानाका नजिकैको कट्टी गाउँमा खटिएका नेपाल प्रहरीले शङ्काका लागि जाँच गर्दा भारतीय युवक दीपक रकमसहित पक्राउ परेका हुन् ।

स्रोत नखुलेको रु नौ लाख ५० हजार, मोटरसाइकल र पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयले बुधबार साँझ आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको प्रहरीले बताएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७