
काठमाडाैं । भारत र नेपालले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय संयुक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त संचालक समितिको ९ औँ बैठक फागुन ११ र १२ गते काठमाडौंमा सम्पन्न भएकाे छ ।
भारत सरकार ऊर्जा मन्त्रालयका सचिव आलोक कुमार र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीको सह–अध्यक्षतामा भारत–नेपाल संयुक्त सञ्चालक समितिको बैठक सम्पन्न भएकाे हाे ।
बैठकअघि भारत सरकार ऊर्जा मन्त्रालयका सचिव आलोक कुमारले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री श्री पम्फा भुसालसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
बैठकमा दुवै पक्षले भारत नेपाल साझेदारीमा ऊर्जा क्षेत्र सहकार्य एक बलियो स्तम्भको रुपमा रहेको बताए । साथै नेपालमा विद्युत उत्पादन परियोजनाहरुको संयुक्त विकास, सीमापार विद्युत प्रसारण पूर्वाधारको संयुक्त विकास, सम्बन्धित घरेलु नियम र नीतिगत ढाँचा अन्तर्गत विद्युत व्यापार क्षमता अभिवृद्धि सहयोगमार्फत ऊर्जा क्षेत्रमा सफलता हासिल गर्न सहमति पनि जनाए ।
उर्जा क्षेत्रमा अझ बलियो र आपसी हितकर सहकार्यका लागि मार्ग प्रशस्त गर्न नेपालले विद्युत उत्पादन क्षमतामा सुदृढिकरण गरेको भारतीय पक्षको ठहर छ । भण्डारण परियोजनामा विशेष जोड दिँदै नेपालमा विकास गर्न सकिने किसिमका जलविद्युत परियोजना निर्माणका लागि संयुक्त जल विकास समितिको स्थापना गर्ने दुई पक्षबीच सहमति पनि भएकाे छ ।
बैठकमा दुई पक्षबीच उर्जासँग सम्बन्धित छलफललाई जारी राख्ने र अर्को बैठक भारतीय पक्षले आयोजना गर्ने सहमति पनि बैठकले गरेकाे छ ।