काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आक्राेश व्यक्त गरेका छन् ।
नेकपा एमाले अछाम-काठमाडौं सम्पर्क मञ्चकाे सम्बाेधनका क्रममा थापाप्रति आक्राेश पाेखेका हुन् । उनले एमसीसीका कम्प्याक्टमा राष्ट्रघात भएकाे जिकीर गर्दै भने,’नेपाली काङ्ग्रेसका मन्त्री, महामन्त्री, महामन्त्री भन्दा ठूला मन्त्रीले राष्ट्रघात गरे ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रघात गरेर देशलाई अर्ध उपनिवेश बनाउन लागेको पनि बताए ।
नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीचको एकताले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ स्वरूप धारणा गर्ने विश्वास भएकोमा तीन वर्ष पनि नबित्दै एकता भड्किनुमा दु:ख लागेकाे पनि उनले बताए ।
व्यक्तिगत स्वार्थका कारण बाम एकता भड्किएकाे रावलको टिप्पणी छ ।
एमसीसी प्रतिनिधिसभाबाट पास गर्ने राजनैतिक दल र तिनका नेतालाई इतिहासमा राष्ट्रघाती भनेर चिनिने राववले ठाेकुवा गरे ।
लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा नबाेलेकाे, कर्णाली प्रदेशमा चीनले सीमाना मिचेको भनेर जनतालाई दिग्भ्रमित बनाउन खोजेको आरोप पनि रावलले लगाए । कांग्रेस र माओवादी केन्द्र र समाजवादीले लोकतन्त्रको नाममा एमसीसी पास गरेर ठोकतन्त्र लादेको पनि उनकाे भनाइ छ ।
फरक प्रसंगमा बिहीबार बिहान नेत्रविक्रम चन्द विप्लवसँगकाे भेटवार्ताबारे पनि उनले जानकारी गराए । उनले विप्लवले राष्ट्रवादी वामपन्थी शक्तिहरु बाम एकता गर्नुपर्ने आजकाे आवश्यकता रहेकाे बताएकाेमा ‘राष्ट्रवादकाे पक्षमा सँधै उभिने तर एमाले नछाेड्ने’ बताएकाे जानकारी दिए ।