• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

महिला हक अधिकार सुनिश्चितका लागि सरकार प्रतिवद्ध : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री देउवाले महिलाको बिषय सबैको साझा विषय भएको भन्दै महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले महिलाविरुद्ध हुने सबैखाले भेद्भाव र हिंसाविरुद्ध अभियानकै रुपमा जुट्न आग्रह गरे । देशको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने उनले बताए ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाजमा विद्यमान पितृसतात्मक सोच र व्यवहारलाई निवारण गर्न नसक्नु चुनौतीको विषय भएको उल्लेख गरे । महिला हिंसा र असमानतालाई पूर्ण रुपमा निर्मूल नपारेसम्म देश र समाजको आर्थिक सामाजिक विकास नहुने उनको भनाई छ ।

‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ २०७८ को महिला दिवस मनाइएको हो । सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।