• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

संसदको अबरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सापकोटाकाे अनुरोध

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अबरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले संसद अवरोधका कारण बिधि निर्माण प्रकृया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल नपाएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका हुन् ।

सभामा विचाराधिन रहेका ४२ विधेयकहरुलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यहरु समेत अवरोधका कारण प्रभावित हुन पुगेको उनले बताए । उनले विचाराधिन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्यसंचालनमा सहयोग गर्नु सवैको दायित्व भएको बताए ।

आफ्ना माग पुरा नभएको भन्दै एमालेले निरन्तर रुपमा सदन अवरुद्ध गर्दै आएको छ । त्यसअघि बैठकमा नेकपा एमालेका सांसद भीम रावलले दार्चुलाको बंगाबगरमा भारतले एकपक्षीयरुपमा डोजर चलाएको र सरकारको तर्फबाट कुनै किसिमको पहलकदमी नचलाएको बताए । उनले भारतले सीमा मिच्दासमेत सरकार मौन बसेको भन्दै आपत्ति जनाए ।

त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले पनि भारतीय पक्षको निन्दा गर्दै तटबन्ध निर्माण तत्काल रोक्न माग गरे । बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको बार्षिक प्रतिवेदन पेश गरेका थिए ।