• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छ : सभामुख

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताएका छन् ।

विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खाँचो औँल्याए ।

आइतबार देखि काठमाडौंमा सुरु भएको ‘निसाना’ शीर्षकमा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनीको उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणको कुरा मात्रै हुने तर वास्तवमा नियन्त्रण गर्न भने गाह्रो देखिएको बताए । उनले कार्टुन प्रदर्शनीले आफूलाई पनि भित्रभित्रै भ्रष्टाचारविरुद्ध लाग्न प्रेरणा मिलेको पनि बताए । सभामुख सापकोटाले आफ्नो विवेकले भ्याएसम्म भ्रष्टाचारविरुद्ध लागिरहने प्रण पनि गरेका छन् ।

‘कार्टुन भनेको कलम होइन, मुटुले बनाउने कुरा हो, जसमा समाजको चित्रण साँच्चैको सिर्जनामा हुन्छ,’ उनले भने, ‘अभियानमा समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गर्दछु ।’ सत्यकुरा गर्न सजिलो भए पनि त्यसलाई अङ्गाल्न गाह्रो हुने बताउँदै सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको अभियानमा हुने सङ्कल्पप्रति आफ्नो पूर्ण समर्थन हुने प्रतिवद्धता व्यक्त गरे ।

उनले काम गुणस्तरयुक्त, कानुन निर्माण गर्नु र ठीक ढङ्गले लागू भएको छ कि छैन भनेर निगरानीको नेतृत्व गर्ने हो भन्दै उनले त्यसमा आफू प्रतिबद्धताका लागि लागिरहेको र अब पनि लागिरहने बताए । सभामुख सापकोटाले भने, ‘भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन । यो राष्ट्रियतासँग जोडिएको विषय पनि हो । यो बढ्दै गयो र यस्तै गरी हामीले यसविरुद्ध खबरदारी गरेनौं भने यसले हाम्रो प्यारो मातृभूमिलाई भित्रभित्रै खाइदिन सक्छ ।’

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सुरु भएको चित्रकारको कार्टुन प्रदर्शनी अर्थपूर्ण रहेको र अबको २५ दिन धेरै गुणात्मक हुने उनले विश्वास व्यक्त गरे ।

कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा आइतबार देखि नेपाल कला परिषद्मा तीनदिने उक्त कार्टुन प्रदर्शनी सुरु भएको हो । भ्रष्टाचारविरुद्ध सचेतना जगाउन दुई महिना भित्रमा सातै प्रदेशमा प्रदर्शनी गर्ने क्लबका अध्यक्ष वासु क्षितिजले जानकारी दिए । प्रदर्शनीमा ३६ जनाका ५० वटा कार्टुन समावेश छ ।