
भक्तपुर । दिनहुँजसो युट्युब, फेसबुक वा अरु यस्तै श्रव्यदृश्य माध्यममा नयाँ गीतसंगीत तथा पुराना गीतहरुको कभर निस्किरहेका हुन्छन् । तर हालसालै युट्युबमा एउटा यस्तो गीत निस्केको छ जसको संगीत सिर्जना २५ वर्षअगाडि नै भइसकेको तर विविध कारण र जीवनका उल्झनहरुका कारणले गीतलाई रेकर्ड गर्न नसकिएको रहेछ ।
कुनै जमानामा गीतलाई सार्वजनिक गर्न भव्य समारोहकै आयोजना गर्नुपर्ने हुन्थ्यो तर अचेल फेरिएको समय र आधुनिक सूचनाप्रविधिको कारणले सजिलै र देशविदेशमा समेत एउटै समयमा नयाँ गीतको प्रबर्द्धन गर्न सकिन्छ। यसै क्रममा ऊबेला भन्ने दुईजनाको सांगीतिक समूहले ‘मलाई लाग्दैन तिम्रो माया’ नामको गीत हालसालै युट्युबमा सार्वजनिक गरेका छन् ।
गीतको गुणस्तर र संगीतको प्रकारका बारेमा प्रश्न सोध्दा गीतका संगीतकार नित्य डि’ कुँवरले यो गीतलाई स्लो रक विधामा राख्दा ठीक हुने र सुरुवाती अवस्था भएकोले रेकर्डिङ्गमा केही प्राविधिक त्रुटि भएको स्वीकार्दै समग्रमा गीत अपेक्षित नै भएको बताए । ‘गीत खासमा रोमान्टिक तर असफल प्रेमको कथा हो, साथै स्वार्थरहित प्रेमको बलिदानलाई पनि यसमा पाउन सकिन्छ’, कुँवरले भने । उनले भनेअनुसार यस गीतले बितेको ९० को दशकलाई याद दिलाउने र गीतसँगै दर्शकश्रोताले आ-आफ्नो भोगाइअनुसार आफूलाई पनि सम्बन्धित गराउन सक्नेछन् ।
अर्का सदस्य सुकदेव केसीले यो गीतमा स्वर दिएका हुन् र गीतको प्रारम्भिक सफलताले आफूलाई यसै क्षेत्रमा निरन्तर लागिरहन प्रेरणा मिलेको बताए । ‘यो गीतको सिर्जना भएपश्चात् नै प्रायः सबै साथीभाइले यसको चर्चा गरेको र गुनगुनाएकोले पनि हामीले यसलाई कुनै दिन रेकर्ड गरेर सार्वजनिक गर्नुपर्छ भन्ने लाग्थ्यो र त्यो समय बल्ल आएर जुर्यो’, उनले भने ।
गीतसंगीतमा अपार मोह हुँदाहुँदै र केही आधारभूत ज्ञान भएरै पनि जीवनका आरोहअवरोह पार गर्ने क्रममा २५ वर्षसम्म आफ्नो मोहको क्षेत्रमा केही नगरी चुपचाप बस्न बाध्य भएको तर संगीत साधनालाई भने सकेसम्म निरन्तरता दिइरहेको बताए ।
अबको भावी योजनाबारे दुवैजनाको एउटै निर्णय रहेछ । ‘पहिला त केही समयपश्चात यही गीतको एक गतिलो म्युजिक भिडियो बनाउने र क्रमशः आफूलाई सुधार्दै नयाँ नयाँ सिर्जनाहरु गरिरहने ।’ अबको केही समयमै लगातार २/३ वटा पहिले नै रचिएका तथा संगीत भरिएका गीतलाई नयाँ रुपमा दर्शक श्रोतामाझ ल्याउने तयारीमा रहेको उनीहरुले बताए ।