काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् ।
साेमबार बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गरे भने एमालेका उपप्रमुख पदका उम्मेदवार दनुवारले नौ हजार ५३४ मत प्राप्त गरी विजयी भए ।
प्रमुख पदका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले आठ हजार ११५ मत प्राप्त गरे भने उपप्रमुखका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतम(मणि)ले नौ हजार १० मत प्राप्त गरे ।
त्यस्तै वडाहरुमा क्रमशः वडा नं १ मा माओवादी केन्द्रका जय बहादुर तामाङले ५९४ मत प्राप्त गरी विजयी भए भने वडा नं २ मा कांग्रेसका रामेश्वर दाहालले ९३४ मत प्राप्त गरी विजयी भए। वडा नं ३ मा कांग्रेसका सुन्दर अधिकारीले ८०५ मत, वडा नं ४ मा कांग्रेसकै सुन्दर तामाङले ९१० मत, वडा नं ५ मा एमालेका सीताराम ढुङ्गानाले ६१४ मत र वडा नं ६ मा नेकपा (एकीकृत समाजवादी)का रामशरण दुलालले एक हजार ३८२ मत प्राप्त गरी विजयी भए ।
त्यस्तै, वडा नं ७ मा कांग्रेसका रामकृष्ण दङ्गालले ६९६ मत, वडा नं ८ मा कांग्रेसकै सञ्जय तामाङले एक हजार १५८ मत, वडा नं ९ मा एमालेका रामकाजी श्रेष्ठले एक हजार ११ मत, वडा नं १० मा एमालेकै नारायण प्रसाद सापकोटाले ६५५ मत, वडा नं ११ मा कांग्रेसका हीराकाजी तामाङ ९१६ मत, वडा नं १२ मा कांग्रेसका ज्ञानबहादुर दनुवारले एक हजार १७७ मत र वडा नं १३ मा कांग्रेसका सुकुवीर तामाङले ७०४ मत प्राप्त गरी विजयी भए ।
नगरपालिकाको वडा नं १३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्रमा गत वैशाख ३० गते शुक्रबार भएको मतदानमा मतपत्र वितरणको क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएकोमा यही जेठ ३ गते पुनः मतदान भएको थियो । यसका कारण ढिला गरी मतगणना भएको थियो ।
पाँचखालको मतगणना सम्पन्न भएपछि जिल्लाका १३ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अधिकांश पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आ–आफ्नो पदको पद तथा गोपनियताको शपथ ग्रहण गरी कार्यभारसमेत सम्हालिसकेको छ ।