• २०८३ असार १०
  • 2026 June 24, Wednesday

परिणाम स्वीकार गरी सिर्जनाले दिइन् बालेनलाई बधाई

काठमाडौं । काठमाडौं महानगरमा मेयरकी प्रत्यासी सिर्जना सिंहले नगरवासीले दिएको मतलाई हार्दिकता पूर्वक स्वीकार गरेकाे बताएकी छिन् ।

‘वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासिले दिनुभएको अपार माया, हौसला र समर्थनप्रती म हृदयदेखि आभार प्रकट गर्दछु,’ कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी सिंहले आभार विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘विजयी हुने गरि निस्चय नै मत जित्न सकिनँ तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकेँ अत: लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसात गर्दछु ।’

सिंहले नवनिर्वाचित मेयर वालेन्द्र साहलाई बधाईसमेत ज्ञापन गरेकी छिन् । उनले भनेकी छिन्,’काठमाडौं महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।’

बालेनले कूल सदर मतमध्ये ६१ हजार ७६७ प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिंहले ३८ हजार ३४१ मत पाइन् । तेस्रो स्थानमा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाए ।