• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

पर्यटन व्यवसायीले मागे मन्त्री आलेकाे राजीनामा

काठमाडाैं । नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संयुक्त रुपमा विज्ञप्ति निकालेर संस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री प्रेम आलेकाे राजीनामा मागेका छन् ।

मन्त्री आले एक पछि अर्काे विवादमा मुछिदै आएकाे र मन्त्री आलेकाे हर्कतका कारण सरकार र निजी क्षेत्रका पर्यटन व्यवसायीले शीर निहुराउने अवस्था आएकाे भन्दै उनीहरुले मन्त्री आलेकाे राजीनामा माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएकाे छ, ‘समाजलाई सुसंस्कृत र असल आचरण सिकाउनुपर्ने मन्त्रीबाटै देखिने गरेका यस्ता अश्लिल र अराजक अभिव्यक्ति र गुन्डागर्दीको ब्यवहार सभ्य समाजका लागि स्वीकार्य हुनै सक्दैन ।’

मन्त्री आले अध्यक्ष रहेको लुम्बिनी विकास कोषको गुरुयोजना अनुसार आध्यात्मिक अभ्यासका लागि छुट्याइएको लुम्बिनी ग्रामको चार बिघा क्षेत्रलाई मन परेको ब्यबसायी कम्पनीसँग सिधै प्रस्ताव माग गरेर कुनै प्रक्रिया नै पूरा नगरी व्यावसायिक रिसोर्टको अनुमतिको ठाडो आदेश दिने मन्त्री आलेको नियत माथी पनि निजी क्षेत्र ससङ्कित भएकाे पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।