
काठमाडाैं । नेकपा एमालेका सांसद भीम रावलले रोस्ट्रम छाड्न नमान्दा संसद बैठक १५ मिनेटका लागि स्थगित गर्नुपरेकाे छ ।
अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको पत्र सरकारले नपठाइएको भन्दै रावलले सरकारलाई रुलिङ गर्न माग गर्दै रोस्ट्रम छेउ पुगेका थिए ।
मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे ।
बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । सो प्रस्तावमा सांसदहरुहरु शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए ।
सभामुखको आशनमा रहेका सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आशन गर्न आग्रह गरे पनि रावलले एसपीपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने माग रोस्ट्रममै उभिए ।
सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक–पटक विषयान्तर भएको भन्दै आशन ग्रहण गर्न आग्रह गरे । पटक पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरे ।