माओवादीप्रति गोकुल बास्कोटाको व्यंग्य- सत्ताको चास्नीले नागरिकतामा रंग फेरियो

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अवधि नै नराखी नागरिकता दिने प्रावधानप्रति सहमति जनाएको भन्दै नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गरेका छन् ।

माओवादीले ७ वर्षको अवधि राखेर मात्र वैवाहिक अंगिकृत नागरिकताको प्रमाणपत्र दिने सहमति जनाए पनि हाल सो प्रावधानविना नै नागरिकता दिने विषयमा सहमति जनाएपछि सांसद बास्काेटाले व्यंग्य गरेका हुन् ।

‘ट्रकमा चढेर आऊ, ट्रेनमा चढेर मेरो मुलुकमा आऊ भन्ने देशले पनि नागरिकता दिनका लागि खास अवधि राखेको हुन्छ । तर, यहाँ कुनै अवधि नै नराखी नागरिकता दिन खोजिएको छ,’ सांसद बास्कोटाले भने, ‘तर, हिजो अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरु सत्ताको चास्नीको भरमा अहिले आउनेबित्तिकै नागरिकता दिनुपर्छ भनेर सहमत भएका छन, छेपारोले पनि यति चाँडो रंग फेर्दैन होला, जो अहिले साथी (माओवादी)ले फेर्नु भएको छ ।’

बास्कोटाले नागरिकतामा खुकुलो प्रावधान राख्दा मुलुक फिजीकरण हुने भन्दै सचेत हुन आग्रहसमेत गरेका छन ।

‘पेरुमा जापानी नागरिक राष्ट्रपति भएको जस्तो नहोस्, फिजीमा भारतीय नागरिक प्रधानमन्त्री भएको जस्तो नहोस्’ बाँस्कोटाले प्रतिनिधिसभा बैठकमा भने, ‘त्यसैले नागरिकता दिँदा निश्चित अवधि तोकिनुपर्छ, आउनेबित्तिकै टीका लगाएर दिने प्रावधान खारेज गरिनुपर्छ ।’

प्रतिनिधिसभा बैठक जारी छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१