
काठमाडौं । सत्तारुढ नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका छन् ।
नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका नेपालले यस्तो बताएका हुन् । उनले पुष्पलालको शिक्षा दिक्षाबाट दीक्षित भएर नेपालको इतिहासमा कीर्तिमान कायम गरेको बताए ।
उनले भने, ‘अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन् आत्तिनु पर्ने कुनै कारण छैन । नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौं । हामीले इतिहासमा कीर्तिमान बनाएका छौं । पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । त्यसको छुटै अस्तित्व छ । अरु भन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ समर्पित राजनीतिको निमित्त इमानदार राजनीतिको निमित्त देश र जनताको निमित्त केन्द्रित हुनेछ ।’
उनले कसैले असम्भव ठानेको कुराहरुलाई आफूले सम्भव तुल्याएको दावी समेत गरे । उनले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।