
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुन नसक्ने बताएका छन् ।
नेकपा एकीकृत समाजवादी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल हुन नसक्ने बताए ।
तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने उनको तर्क छ । कांग्रेसप्रति लक्षित गर्दै खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे ।
खनालले अहिले बाम एकताको खाँचो रहेको औंल्याए । उनले आगामी निर्वाचनमा सम्भव भए बामपन्थी एकता गर्नुपर्ने र यसका लागि एमालेको नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको जिकिर गरे ।
सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए बामपन्थी एकता असम्भव नरहेको उनको भनाइ छ ।