काठमाडौं । नेपाली काङग्रेसका महामन्त्री गगन थापाले सिट बाँडफाँडसँगै भोलि नछुट्टिने ग्यारेण्टीका साथ गठबन्धन अगाडी बढ्नु पर्ने बताएका छन् ।
पदकै कुरा नमिलेर नेकपाको सरकार विघटन भएको कुरा स्मरण गर्दै थापाले अगामी निर्वाचनका लागी अहिले सत्ताधारी दलहरुको बीचमा सिट बाँडफाँडको लागि छलफल भइरहेको र सिट बाँडफाँडसँगै भोलिका दिनमा गठबन्धनबाट बाहिर नजाने कुराको पनि ग्यारेण्टी हुनुपर्ने बताएका हुन् । गठबन्धनमा रहेका दलहरुले हाम्रा एजेण्डाहरु के हुन् ?, हामीसँगै किन बस्ने ?, स्थिर सरकार बन्यो भने नागरिकहरुले के पाउने ? लगायतका विषयमा गहन छलफल गर्नु पर्ने थापाको तर्क छ ।
महामन्त्री थापाले निर्वाचन पश्चात पनि गठबन्धन आवश्यक नै रहेकाले अहिलेकै गठबन्धनलाई निरन्तरता दिनु उचित हुने पनि बताए । लोकतान्त्रिक पद्धती कायम रहेका थुप्रै देशहरुमा चुनावी गठबन्धन हुने गरेको भन्दै थापाले गठबन्धनमा पछि गएर धोका नहुनु नै प्रमुख कुरा रहेको दाबी गरे ।