• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताएका हुन् ।

उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले फोहोर समस्याको दीर्घकालिन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने बताए ।

महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरुको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए ।

उनले भने, ‘तीन तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो । मैले अपिल गर्नैपर्छ, भन्नैपर्छ, विहान एक छाकको साँझ एक छाकको गरेर दुई छाककोसम्म फोहोर उठाउन तीन तहको सरकारले नसक्ने खालको लज्जित अवस्थाबाट यसलाई अन्त्य गर्नुपर्छ ।’

उनले समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने बताए ।