चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली आज नेपाल आउने

काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा सोमबार नेपाल आउँदै छन्।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने तय भएको छ। सोमबार नै सभामुख सापकोटा र लीले वार्ता गर्नुहुने कार्यसूची छ।

वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्यायप्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पुर्‍याउन सक्ने सहयोग र सहकार्यका सम्बन्धमा बृहत् छलफल हुनेछ।

सभामुख सापकोटाले नेता ली तथा चिनिया प्रतिनिधिमण्डलको सम्मानमा सोमबार साँझ रात्रिभोज आयोजना गर्ने छन्।

मंगलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यसूची छ। परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट तय भएको छ।

लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन्। पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै भेटवार्ता तय भएको छ।

नेपालमा रहँदा उनले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुँदा भएका सहमतिअनुसार अघि बढेका कार्यक्रमको प्रगतिको अनुभव आदानप्रदान गर्नुका साथै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना तथा अन्य विकास साझेदारीका बारेमा छलफल गर्नेछन्।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७