उपत्यकाका सडकमा बुधबार पनि यातायात प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा बुधबार पनि यातायात प्रभावित हुने भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु भक्तपुर जाने र राष्ट्रपतिलाई भेट्ने कार्यक्रम रहेकाले त्यसबखत सवारीसाधान आवागमन प्रभावित हुने भएको हो ।

चिनियाँ भ्रमण टोलीको आउजाउका कारण हिजो मंगलबार पनि काठमाडौं उपत्यकाको सडक यातायात प्रभावित भएको थियो।

बुधबार बिहान भक्तपुर भ्रमणमा जाने चान्सुको भ्रमण टोली र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नेछ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यातायात प्रभावित भनेर सूचना निकाले पनि चिनियाँ नेता लीका कारण भनेको छैन। ‘विशेष कारणवश’ लेखिएको छ।

सूचनाअनुसार बिहान ९ बजेदेखि काठमाडौंको कालिमाटीदेखि भक्तपुरको सल्लाघारीसम्म र दिउँसो साढे ३ बजेतिर कालिमाटीदेखि महाराजगन्जसम्मको सडकमा आवागमन प्रभावित हुनेछ । त्यसबेला वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान ९ बजेदेखि कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर, तिनकुने, जडिबुटी, कौशलटार, मध्यपुर ठिमी र सल्लाघारी क्षेत्रको सवारी साधन प्रभावित हुने छ।

त्यस्तै, आजै दिउँसो साढे ३ बजे आसपासमा कालिमाटी, त्रिपुरेश्वर, जमल, लाजिम्पाटदेखि महाराजगञ्जसम्मको सवारी आवागमन प्रभावित हुनेछ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७