अनुसन्धानका लागि बहालवाला न्यायाधीशलाई पनि बोलाइने

काठमाडाैं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित बुधबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले वयानका क्रममा नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

‘निलम्बित प्रधानन्यायाधीश राणासँग अनुसन्धानका लागि लिइएको वयानका क्रममा नाम जोडिएर आएका नाम सङ्कलन गरी बोलाउछौँ’ उनले भने, ‘बयानमा नाम जोडिएर आएका वहालवाला न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई पत्राचार गर्ने निर्णय भएको छ ।’

समितिको अर्को बैठक बिहीबार बिहान ८ः३० मा बस्ने छ । निलम्बित प्रधानन्यायाधीश राणासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम मङ्गलबार सकिएको छ । समितिले यही भदौ ८ गते वयान लिने निर्णय गरी भदौ १६ गतेदेखि वयान लिन सुरु गरेको थियो भने हिजो पाचौँ दिन पहिलो चरणको वयान सकिएको थियो ।

राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । राणाविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेत समेटिएको छ ।

समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र वयानका क्रममा आएका व्यक्तिहरूसँग पुनः सवाल जवाफ गर्ने समितिको तयारी छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७