
काठमाडौं । काठमाडौं महानगरपालिकाविरूद्ध फुटपाथ व्यवसायी आन्दोलित भएका छन् ।
जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
सडकपेटी तथा गल्लीहरुमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको व्यवसायीहरुकाे आराेप छ ।
बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना व्यवसायीहरू भद्रकालीभएर महानगर कार्यालय परिसरमा पुगेका हुन् । महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनु परेको संघले जनाएको छ ।