
काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संसदको पाँच वर्षे कार्यकालमा जननिर्वाचित प्रतिनिधिहरुको प्रभावकारी भूमिका हुन नसकेको बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले संसदको नेतृत्व गर्ने पात्रहरुको भूमिका महत्वपूर्ण हुने भए पनि त्यस्तो हुन नसकेको बताएका हुन् ।
पोखरेलले सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभाको नेतृत्व भन्दा पनि गठबन्धनको बफादार कार्यकर्ताको रुपमा भूमिका खेलेको आरोप लगाए ।
आफूहरु सत्तापक्षमा हुँदा सौहार्दपूर्ण भूमिका खेलेको र प्रतिपक्षीमा रहँदा पनि प्रभावकारी भूमिका खेलेको उनकाे भनाइ छ । उनले सदनले नै विभिन्न विषयमा प्रतिपक्षीसँग छलफल गर्न नचाहनु बिडम्वना रहेको बताए ।
उनले केही पात्रहरुका कारण नै संसद अनाकर्षण थलोको रुपमा देखापरेको टिप्पणी गरे ।