• २०८३ जेठ २७
  • 2026 June 10, Wednesday

जबराविरुद्धको महाअभियोग प्रतिवेदन शनिबार बुझाउने तयारी, बयानको १७४ मध्ये ६५ पृष्ठमा हस्ताक्षर

काठमाडाैं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबरासँग बयानको लिखित प्रतिमा हस्ताक्षर लिएको छ ।

समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर समितिले जबराको बयान १७४ पेजमा समेटेकोमा शुक्रबार बयानको ६५ पेजसम्म हस्ताक्षर लिइएको समितिका प्रवक्ता लक्ष्मी गौतमले जानकारी दिए ।

बैठकमा जबरालाई आफ्नो बयान पढेर सुनाउने र हस्ताक्षर गराउने काम भएको थियो । शुरुमा समिति सदस्यहरूले चोलेन्द्रलाई १ सय ७४ पेज लामो बयानको अन्त्यमा हस्ताक्षर गर्न आग्रह गरेका थिए ।

तर, जबराले हस्ताक्षर गर्न अस्वीकार गरेपछि बयानको प्रत्येक पृष्ठ पढेर सुनाउँदै हस्ताक्षर गराउने गरिएको थियो । शनिबार बाँकी बयान पढ्ने र हस्ताक्षर गर्ने काम हुने प्रवक्ता गौतमले बताए ।

समितिको बैठक शनिबार बिहान ८ बजे नै बोलाइएको छ । हस्ताक्षर सम्पन्न गरेपछि जबरालाई पुरक प्रश्न सोधिने प्रवक्ता गौतमकाे भनाइ छ ।

महाअभियोग प्रतिवेदन शनिबार प्रतिनिधिसभामा बुझाउने तयारी पनि भइरहेकाे छ ।