ओरालो लागेको देशलाई मंसिर ४ पछि एमालेले बचाउँछ : केपी ओली

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन्।

काठमाडौंको वसन्तपुरमा ‘युवा सँगसँगै पदयात्रा’ कार्यक्रममा ओलीले अहिले देश अप्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताए।

अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यासद्वारा सशक्त ढंगले अघि बढाउने बताए। उनले यसको फैसला मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले गर्ने बताए।

‘फैसलाका लागि संघीय संसदको प्रतिनिधि सभाको निर्वाचन र प्रदेशको, सातै प्रदेशको निर्वाचन भइरहेको छ। यतिबेला देशलाई हार्न दिनु हुँदैन’, उनले भने, ‘जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु हुँदैन, एकछिन धक्का खाएको होला, यसलाई चिरेर देशलाई द्रुत गतिले अघि बढाउनुपर्छ।’

अध्यक्ष ओलीले संविधान दिवसलाई राष्ट्रिय पर्वको रूपमा मनाउनु पर्ने धारणा राखे। संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा वृहत् (पदयात्रा) शुरु गरेको हो। पदयात्रा बिहान ७ बजे उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो।

पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७