
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वोच्च अदालतले दुई/दुई पटक संसद बिघटनलाई असंवैधानिक भने पनि एमालेलाई चेत नआएको बताएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा खनालले अदालतले दुई/दुई पटक संसद् विघटन असंवैधानिक हो भनेर भन्दा पनि एमालेको चेत नखुलेको भन्दै आगामी निर्वाचनको परिणामले एमालेको चेत खुल्ने बताए ।
खनालले संविधान र सङ्घीयता कार्यान्वयन जस्तो महत्वपूर्ण उपलब्धि संसद्को यो कार्यकालमा भएको र यो अवधिमा धेरै कानुन बनाउनुलाई पनि उपलब्धिका रुपमा हेरिनुपर्ने धारणा पनि राखे ।
वर्तमान सरकार पाँच दलको साझा धारणामा बनेको उल्लेख गर्दै उनले बहुदलीय व्यवस्थामा दल मिलेर आफ्नो एजेण्डासहित सरकारमा सहभागी हुने बताए ।
खनालले नेपालमा संविधान जारी भएपछि भएको निर्वाचनमा देशले ठूलो अपेक्षा राखिएको भए तापनि अपेक्षाअनुसार कृषि, शिक्षा, स्वास्थ्य, उद्योग रोजगारसम्बन्धी विकास हुन नसकेको बताए ।