• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

आजदेखि मौसम क्रमिक रूपमा सुधार हुने

काठमाडाैं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए ।

उनले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताए। मौसमविद् भट्टराईले भने, ‘मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ। आज कर्णाली र सुदूरपश्चिमका केही स्थान र पूर्वका धेरै स्थानमा वर्षा हुने देखिन्छ। भोलिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सुधार हुन्छ, बिहीबारदेखि देशैभर मौसम सफा रहन्छ।’

जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डितरूपमा मात्रै भइरहेको छ। मनसुन बाहिरिन अझै एक साता लाग्ने महाशाखाले जनाएको छ।

हाल नेपालमा हरियाणा आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम १८ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।